तमू बौद्धको भौतिक विकास
संस्था स्थापना त गरियो तर संस्थाको आफ्नै स्थायी कार्यलय नहुँदा बैठक बस्दा कहिले कहाँ, कहिले कहाँ हुने । समितिका पूर्वअध्यक्ष भोकबहादुर गुरुङको शब्द सापटी लिने हो भने तमू बौद्धको बैठक ’जिप्सी’ को जस्तो थियो, घुमन्ते, फिरन्ते प्रकृतिको । संस्थाको मूल उद्देश्य मर्दा–पर्दा सहयोग गर्ने भनिएकाले २०४९ साल ले.राजबहादुर गुरुङ अध्यक्ष रहँदा शवबाहन खरिद त भयो तर शवबाहन राख्ने ठाउँ पनि भएन । टेलिफोन लाइन निकालियो, त्यो राख्ने ठाउँ पनि भएन । त्यसैले भवन निर्माणका लागि जग्गा खरिद गर्ने योजना बन्यो ।
मे. दीपकबहादुरको पहलमा मन्त्रिपरिषदले २०४९ जेठ ७ मा ललितपुरको कुमारीपाटीमा १२ आना जग्गा धार्मिक प्रयोजनको लागि गुम्बा निर्माण गर्नेगरी भोगचलनको अधिकार त दियो तर स्थानिय बासिन्दाले विरोध गरेपछि त्यो जग्गाको स्वामित्व लिन सकेन ।
यसै क्रममा जग्गा खरिद गर्ने निर्णय त भयो तर जग्गा कहाँ खरिद गर्ने समस्या भयो । ललितपुर बस्नेको ललितपुरतिरै खरिद गर्नुपर्छ भन्ने भनाइ थियो भने महाराजगञ्ज, चावहिलतिरकाले बौद्ध नजिक किन्नुपर्छ भन्ने तर्क राखे । उता मे.दीपकबहादुरले पुतलीसडक न्यूप्लाजामै चार आना जग्गा हेरिसक्नुभएको रहेछ । तर बैठकमा चार आना सानो हुन्छ भन्ने भयो । पछि पर्यटन व्यवसायी रामकाजी कोनेले अनामनगरमा लिने मध्यमार्गी प्रस्ताव राख्नुभयो । जसमा सबैको सहमति भयो र २०५० सालमा १० आना जग्गा खरिद गरियो । जग हाल्ने र भवन निर्माण गर्ने काम भने २०५१ सालको फागुनमा भएको थियो । उक्त जग्गामा तीन तल्ले भवन निर्माण भएपछि दोस्रो तल्लामा गुम्बाको स्थापना गर्ने काम भने २०५४ सालमा क्या. आश बहादुर गुरुङको कार्यकालमा सम्पन्न भयो । बीचको तल्लामा बनाईएको गुम्बामा बुद्धको मूर्ती थाइल्याण्डबाट सहयोग प्राप्त भयो भने गुरु रिम्पोर्छे र चेङ्रेसीको मूर्ती पूर्वमहासचिव गञ्जसिंह गुरुङले दिनुभएको थियो ।
२०६३ को मंसिरमा भवनको पछाडिपट्टि रहेको पर्ती जग्गा काठमाडौ महानगरपालिकासँग अनुमति लिएर संरक्षण गर्ने तथा बोटविरुवा लगाउने काम सम्पन्न भएसँगै भवनको पूर्वपट्टि रहेको खाली जग्गामा आमा समूहको अगुवाईमा भान्छाघर निर्माण गर्ने काम सम्पन्न भयो । आमा समूहले निर्माण गरेको भान्छाघरमा सीता गुरुङले मार्वल लगाइदिनुभएको हो भने व्यवसायी कालु गुरुङले भुईमा टायल लगाइदिनुभई भवनको रंगरोगनसमेत गरि दिनु भएको थियो । त्यस्तै २०६४ सालमा गुम्बाको वरिपरि म्हने लगाउने कार्य पनि सम्पन्न भयो । त्यस्तै २०५७ साल, २०५८ साल र २०६० सालमा गरेर थप जग्गा विस्तार गर्ने कार्य सम्पन्न भयो ।
त्यसैगरी २०६० सालमा खोटाङ च्यान्डाँडा–३ स्थायी घर भई घट्टेकुलोमा बस्दै आउनुभएका स्व.पिता रत्नबहादुर गुरुङ र स्व.माता हिरामाया गुरुङको स्मरणमा उहाँका ५ भाइ छोराहरू तथा परिवारजनले चार लाखको खर्चमा मूल प्रवेशद्वार निर्माण गरिदिनुभएको हो । त्यसैगरी पर्वत भङ्गरा गा.वि.स –७ हाल ललितपुर नखिपोट निवासी स्व.सुवेदार रनबहादुर गुरुङको स्मृतिमा श्रीमती सुकु गुरुङ र चार छोराहरूले खानेपानीको समस्या देखिएपछि २०६९ साउनमा दुई लाख ६५ हजार २७० रुपैयाँको लागतमा खानेपानी फिल्टर प्लाण्ट निर्माण गरिदिनुभयो भने लोडसेडिङको समस्याबाट मुक्त बनाउन संस्थाले आफ्नै खर्चमा २४ वाटको सोलार जडान गरेको छ । त्यस्तै क्या.मेखमानसिंह गुरुङले श्रीमती बन्दी गुरुङको स्मृतिमा मूलढोकासँगै म्हने लगाइदिनुभएको छ भने छतमा केन्द्रीय सदस्यहरू क्या.दुर्गाबहादुर गुरुङ, ले.रामबहादुर गुरुङ लगायत अर्मला परिवारकोले करिब चार लाखको लागतमा बत्ती बाल्ने घर निर्माण गरिदिनुभएको छ । त्यसैगरी समितिकै पूर्वअध्यक्ष मे.भूपाल गुरुङले पावर प्वाइन्ट प्रोजेक्टर प्रदान गर्नुभएको छ भने समितिमा विभिन्न दाताले दिनुभएको र आमा समूहले जोडेको बहुमूल्य धातुका सामान राख्ने सेफ वि.स. २०७१ सालमा समितिका महासचिव टेकबहादुर गुरुङ र उहाँका परिवारले उपलब्ध गराउनुभएको छ ।
साविक भवनको उत्तरपट्टिको जग्गामा ’तमू सामाजिक आर्केड’ बनाउने अवधारणा संस्थाले अघि सारेको छ । यसलाई अपीलमार्फत प्रारुप दिने प्रयास गरिएको छ । तर यस आयोजना धेरै महङ्गो भएको हुने हुनाले आगार्मी वर्षहरूमा विस्तृत गुरुयोजना तयार गरी अघि बढ्ने सोंच संस्थाले लिएको छ । अहिले साविकको भवनकै पश्चिमपट्टि जोडेर चार तल्ला विस्तार गरिएको छ । भवन विस्तार गर्न सल्लाहकार एवम् समाजसेवी रामकाजी कोने, केन्द्रिय सदस्य ओम गुरुङ, उपाध्यक्ष क्या.रामकाजी गुरुङ र सदस्य क्या.देवबहादुर गुरुङका परिवारहरूले १०/१० लाख रुपैयाँ प्रदान गर्नुभएको छ भने अन्य दाताले पनि सहयोग गर्नुभएको छ ।