संस्थाको ईतिहास
राजधानी शहर काठमाण्डौमा हिजोका दिनहरुमा जागिर, ब्यवसाय, पढाई तथा विभिन्न काम विशेषले स्थाई तथा अस्थाई रुपमा आई बसेका तमुहरुलाई एकत्रित गरि स्थापना भएको तमुहरुको जेठो संस्था, तमु बौद्ध सेवा समिति नेपाल हो । हुन त काठमाण्डौमा गुरुङ संस्थाको ईतिहास केलाउँदा २०११ सालमा गुरुङ कल्याण संघ, २०३१ सालमा रोधी परिवार, २०३४ सालमा तमु धीँ काठमाण्डौ जस्ता सामाजिक संघसंस्थाहरु खुलेका थिए तर ति संस्थाहरु केहि समय पश्चात क्रियाशील हुन छाडे । र पछि बि.स. २०४६ सालताका जिउँदोको जन्ती मर्दाको मलामीको लागि भएपनि काठमाण्डौमा तमु संस्थाको अवश्यकता महसुस गरि तमु बौद्ध सेवा समिति नामक संस्था गठन गरियो । सुरुमा पर्वत चित्रेका मन बहादुर गुरुङ ब्रिटिश क्याम्प मानभवनमा काम गर्नुहुँदा ब्रिटिश गोर्खाबाट अवकाश पाएका पूर्वगोर्खाहरूसँग उहाँको निरन्तर सम्पर्क र भेट भइरहन्थ्यो । यसै क्रममा २०४६ असार १९ गते उहाँका बुबा जगन बहादुरको निधन हुँदा एउटा गुरुङ संस्था हुनुपर्छ भन्ने कुरा उठेपछि पछि यसलाई मुर्तरुप दिन नियमित रूपमा भेला, बैठक हुन थाल्यो । यसरी पटक–पटकको भेला, सरसल्लाह र बैठकपछि वि.२०४६ सांल भदौ १७ गतेका दिन थसीखेलमा क्या.आशबहादुरकै डेरामा भएको भेलाले वहाँकै अध्यक्षतामा एउटा गुरुङ संस्थाको स्थापना गर्यो । संस्था स्थापना त भयो तर त्यो बेला संस्था दर्ता गर्न सम्भव थिएन । उता पोखरामा भने बौद्ध अर्घौं सदन स्थापना भइसकेको थियो । तसर्थ संस्कारिक कार्यलाई नै मुख्य उद्देश्य राखेकोले बौद्ध अर्घौं सदनकै शाखाको रूपमा स्थापना गर्ने प्रस्ताव आएको भए पनि तमू बौद्ध सेवा समिति नेपाल अलग्गै संस्थाको रूपमा स्थापना भएको कुरा उल्लेख पाईन्छ ।
क्या. आश बहादुर गुरुङ केही समयपछि नै नोकरीको सिलसिलामा ब्रुनाई जानुपर्ने भएपछि केही समय कार्यबाहक भएर इन्स्पेक्टर मैते गुरुङले संस्थालाई अघि बढाउनुभयो । २०४६ कै मंसिर १० गते मे. दिपकबहादुर गुरुङ संस्थाको अध्यक्ष चयन हुनुभयो । २०४६ सालमा जनअन्दोलनद्वारा प्रजातन्त्रको पुनर्वहाली भएपश्चात भने जातीय संस्था स्थापना गर्न छेकबार भएन । उहाँ पार्टीगत राजनितीमा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले मे.दिपकको कार्यकालमा २०४८ असार १३ गते तमू बौद्ध सेवा समिति नेपालको विधिवत रूपमा काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको हो ।
२०५३ चैत २८–३० मा समितिले “तमू समुदायको प्राज्ञिक, आर्थिक तथा सामाजिक समस्याहरूको पहिचान र समाधानका उपायहरू” विषयक गोष्ठीको आयोजना गर्यो । गोष्ठीमा प्रा.डा.गणेशमान गुरुङले प्रस्तुत गर्नुभएको कार्यपत्र “संस्थागत विकास र अन्तरसम्बन्ध” अनुरूप २०५७ साल असार ३१ गते मा संघीय अवधारणमा “तमू समन्वय परिषद” को स्थापना भएको हो ।
गुरुङ एकतामा संस्था
संस्थाले स्थापनालगत्तै काठमाडौंमा कहाँ र कति संख्यामा गुरुङ जातिको बसोबास रहेको छ भन्ने बारे खोजी गर्ने र रेकर्ड राख्ने योजना बनायो । त्यसैअनुरूप लगत राख्ने प्रक्रियाको थालनी पनि भयो तर निकै कठिन र चुनैतीपुर्ण कार्य थियो । सबैलाई समेट्न नसकेपनि संस्थाले सम्भव भएसम्मको लगत राख्ने काम गर्यो । त्यस्तै संस्थालाई दीर्धकालीनरूपमा सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्नेलगायत विविध कार्यक्रम गर्ने कार्य पनि शुरु गर्यो र यी सबै गतिबिधि सञ्चालन गर्नका लागि अति आवश्यक पर्ने ’अर्थ’ सङ्कलन अभियान पनि चलायो । यसरी संस्थाले विविध गतिविधि सञ्चालन गर्न थालेपछि गुरुङहरूले भेला हुने, छलफल गर्ने साझा चौतारी पाएको महसुस गर्न थाले र यो नै गुरुङ एकताको शुरुवात थियो ।
समयक्रममा गुरुङ जातिले संगठित हुने क्रममा बेग्लाबेग्लै स्थानमा बेग्लाबेग्लै नामका गुरुङ सामाजिक संस्था खोले । पोखरामा तमू धींको स्थापना भएको थियो भने काठमाडौमा तमू बौद्ध सेवा समिति । त्यस्तै बुटवल भैरहवातिर तमू छोँज अस्तिवमा थियो । यी सबैलाई समेटेर सम्भव भए एउटै नामको र नभए सहकार्य गर्नेगरी साझा चौतारीको रूपमा कुनै अर्को संस्था स्थापना गर्ने भन्ने सहमति भएपछि २०४९ साल पुस १–३ मा पोखरामा सम्पन्न भेलाले तमू छोँज धीँको स्थापना गर्यो। २०५२ को मंसिरमा काठमाडौंमा सम्पन्न छोँज धीँको रष्ट्रिय महाधिवेशनपश्चात संस्थाहरु बीच एक आपसमा मेलखान नसक्दा तमु बौद्ध सेवा समिति र पोखराको तमू धीँ कास्की पनि छोँज धीँ तत्कालिन अवस्थामा एकता हुन सकेन ।
यसपछि फेरि तमू संघ–संस्थाहरूबीच एकता र सहकार्य हुन नसकेकाले समितिले नै एकताका लागि पहल शुरु गर्यो। २०५३ चैत २८–३० मा समितिले ’तमू समुदायको प्राज्ञिक, आर्थिक तथा सामाजिक समस्याहरूको पहिचान र समाधानका उपायहरू विषयक गोष्ठीको आयोजना गर्यो। गोष्ठीमा प्रा.डा. गणेशमान गुरुङले प्रस्तुत गर्नुभएको कार्यक्रर्म संस्थागत विकास र अन्तरसम्बन्ध’ अनुरूप २०५७ साल असार ३१ म संघीय अवधारणार्मा तमू समन्वय परिषद’को स्थापना भएको हो । परिषदको स्थापनापछि परिषदमा समितिका साथै काठमाडौंमा खुलेका तथा कार्यरत सबैजसो गुरुङ संस्था र तमू धीँ कास्की पनि आबद्ध भए । तर तमू छोँज धीँ भने आबद्ध भएन।
२०६४ मंसिर १५ र १६ मा पोखरामा सम्पन्न परिषदको दोस्रो महाधिवेशनपछि उत्पन्न विवाद समाधान र २०६५ चैत १५–१७ मा चितवनमा सम्पन्न तमू छोँज धीँ र परिषदको एकता महाधिवेशन सम्पन्न गराउन पनि समितिले उल्लेख्य भूमिका निर्वाह गरेको थियो । २०६९ माघमा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदको झापामा महाधिवेशन सम्पन्न संस्थापक र संगठित रहेका तमू बौद्ध सेवा समितिलगायत राजधानीमा रहेका सबैजसो गुरुङ संघ–संस्थाले महाधिवेशनमा प्रतिनिधित्व गरे । तर महाधिवेशनमा ठूलै राजनैतिक चलखेल भयो । तमू ह्युलको कोषको पारदर्शितादेखि अन्य संघ–संस्थामाथि गरिएका व्यवहारसम्मको विषयले चर्चा पायो । अधिवेशनमा चरम राजनिति भएको भन्दै विरोध भयो । विरोधका बीचमा पनि महाधिवेशन सम्पन्न भयो । पछि काठमाडौमा रहेका संघ–संस्थाले आबद्धता तोडने तथा एउटा छुट्टै छाता संगठन निर्माण गर्नेसम्मको कुरा अगाडि आए । तर तमू बौद्ध सेवा समिति नेपालले विवाद समाधान तथा एकता प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो । त्यसैगरी झापा महाधिवेशनमा उजागर भएका विषयहरूप्रति गम्भिर रहन तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदलाई आवश्यक खबरदारी गरिरहेको छ । २०६५ सालमा तत्कालीन तमू छोँज धीँ र परिषदबीच एकता महाधिवेशन भई तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदको गठन भएपछि परिषदको विघटन भएपछि पूर्व सर्तअनुसार महासंघको सदस्यता तमू बौद्धकै काँधमा आएको थियो । तर आधिकार प्राप्तिको आन्दोलनमा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद नै अगाडि बढोस् हामी विशुद्ध सामाजिक सेवा र संस्कृतिको उत्थानमा काम गछौँ भनेर समितिले महासंघको सदस्यताबारे मौन बसेको थियो।