तमू बौद्ध सेवा समिति नेपाल

सामाजिक कार्यमा संस्था

कुनै पनि संस्थाको दीर्घकालीन अस्तित्व हुने भनेको त्यसले सञ्चालन गर्ने गतिविधिका अलावा त्यस संस्थाको भौतिक सम्पत्ति पनि हो । यही सत्यलाई मनन् गर्दै समितिले संस्थालाई आर्थिक रूपमा सबल बनाउन प्रारम्भिक कालमा सांस्कृतिक कार्यक्रम, घरदैलो कार्यक्रम आदि सञलन गर्यो । यसरी संकलन गरिएको रकमले कार्यलय स्थापना गर्नका लागि जग्गा खरिद गर्ने, भवन निर्माण गर्नेजस्ता कार्य गर्नुका साथै शवबाहन सेवा सञ्चालन शुरु गर्‍यो।

नामले धार्मिक संस्था भए पनि तमू बौद्ध सेवा समिति सामाजिक संस्था भएकोमा कसैको दुईमत हुनसक्दैन । यस बारेमा माथि पनि केही प्रष्ट पारिसकिएको छ । समितिले हालसम्म सञ्चालन गर्दै आएको तल उल्लिखित विभिन्न क्रियाकलापले पनि यसलाई थप स्पष्ट पार्ने काम गरेको छ ।

क) शव–वाहन सेवा

समितिले पवित्र मानवीय सेवाभावले २०४९ सालबाट शवबाहन सेवा शुरु गरेको हो । समयमै नियम तथा प्रक्रियाको जानकारी हुन नसक्दा समितिले निजी गाडीको रूपमा किनेर मारुती भ्यानलाई शवबाहनको रूप दिई सञ्चालन गरेको थियो । पछि त्यसरी प्रयोग गर्न नमिल्ने कानुनी प्रक्रिया थाहा भएपछि भने कानुनी प्रक्रिया पूरा गरी शवबाहन सेवा सञ्चालन गरिएको हो ।

काठमाडौमा रहेका गुरुङ जातिका कुनै व्यक्तिको मृत्यु भएर जानकारी पाउनासाथ समितिको शवबाहनले सेवा पुर्‍याउदै आएको छ । पछिल्लो समयमा भने गुरुङ जातिबाहेक अन्य जातिले पनि समितिको शवबाहन सेवा प्रयोग गर्दै आइरहेका छन् । शुरुमा शवबहान सेवा लिए वापत सेवा लिनेले केही निश्चित शुल्क बुझाउनु पर्ने नियम बनाइएको भए पनि सबै अवस्थामा सो नियम लागू गर्न सम्भव नहुने देखिएकाले अहिले भने सेवाग्राहीले जति दिन्छ त्यति नै स्वीकार गर्ने गरिएको छ र सेवाग्राहीले दिएको दान रकमको रसिद भौचार दिने तथा त्यसलाई समितिको रेकर्डमा उल्लेख गर्ने गरिएको छ । २०४९ सालमा किनिएको शवबाहन पुरानो भएकाले २०६३ सालमा नयाँ किनेर धेरै वर्ष सर्वसुलभ तवरले संचालन गरिएको थियो ।

ख) एम्बुलेन्स सेवा

समितिले २०४९ सालबाटै शवबाहन सेवा सञ्चालन गर्दै आइरहेको भए पनि एम्बुलेन्स भने सञ्चालन गर्न सकिरहेको थिएन । त्यसैले समितिले २०६४ सालको तिहारमा देउसी–भैलो खेलेर अर्थ संकलन गरी एम्बुलेन्स किन्ने र सेवा सञ्चालन गर्ने निर्णय गर्‍यो। त्यसै निर्णयअनुरूप देउसी–भैलो खेल्ने क्रममा समितिका पदाधिकारीहरू तथा सदस्यहरू भाटभटेनी सुपरमार्केट पुग्यो । समितिको विगत र उद्देश्यबाट सन्तुष्ट र प्रभावित हुनुभएका सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले सोही अवसरमा उहाँ एक्लैले एम्बुलेन्स किनिदिने वचन दिनुभयो ।

वि.सं. २०६५ असार १८ गते भाटभटेनी  सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आफ्नो प्रतिबद्धताअनुसार एम्बुलेन्स किनेर समितिका अध्यक्ष चीजबहादुर गुरुङलाई साँचो हस्तान्तरण गर्नु भएपर्छि टाटा सुमो’ एम्बुलेन्सले काठमाडौ उपत्यका बाहिर समेत सेवा पुर्‍याउदै आईरहेकोमा  बदलिंदो समयको मागसंगै उपत्यकामा खोलिएका निजि हस्पिटल तथा नर्सिङहोमहरुमा सबैको एम्बुलेन्ससेवा रहेको हुनाले २०८० साल ताका उक्त शब बहान एम्बुलेन्समा दर्ता भई खरिद गरिएको हुनाले काठमाण्डौ स्थित ईलाम समाजलाई र एम्बुलेन्स चाहि स्यांङजा जिल्लाको ओरष्टे गाँउपालिकामा संचालनार्थ हस्तान्तरण गरिएको छ ।

ग) मातृ भाषा कक्षा सञ्चालन

तमू (गुरुङ) भाषाको संरक्षण र संवद्र्धनका निम्ति समितिले देशका विभिन्न स्थानमा तमू मातृभाषा कक्षा सफलता पूर्वक सञ्चालन गरेको छ । समितिले पूर्वमा ताप्लेजुङ, मध्यपश्चिममा सुर्खेत र दैलेख तथा मध्यमाञ्चलमा रसुवा र काठमाडौका विभिन्न स्थानमा तमू मातृभाषा कक्षा सञ्चालन गरिसकेको छ । यस क्रममा समितिले १४ जना भाषा प्रशिक्षक पनि उत्पादन गरिसकेको छ ।

तमू मातृभाषा कक्षा सञ्चालनका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपाल’बाट केही सहयोग दिइने गरेको भएपनि त्यो अपूरो हुन्थ्यो । त्यसैले समितिले वर्षेनी आफ्नो कोषबाट झण्डै दुई लाख जति खर्च गरी मातृभाषा कक्षा सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण तालिम गर्नुका साथै मातृभाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ । समितिले काठमाडौ, पूर्वमा ताप्लेजुङ, पश्चिममा सुर्खेत, दैलेख र रसुवामा, र हालसालै काठमाण्डौमा खोटाङ समाजमा तमु ह्युल छोंज धि संग मिलेर तमू मातृभाषा कक्षा सञ्चालन गरिसकेको छ । भविष्यमा ’मातृभाषा कोष’ स्थापना गरेर यस कार्यक्रमलाई निरन्तरता दिनेमा समितिको कार्य समिति प्रतिबद्ध रहेको छ ।

घ) छात्रवृत्ति

कुनै पनि जातिको विकास र उत्थानका लागि शिक्षा अनिवार्य सर्त हो भन्ने तथ्यलाई मनन् गर्दै समितिले २०५६ सालबाट छात्रवृत्ति दिने कार्यको थालनी गरेको हो । अहिलेसम्म समितिमा विभिन्न चारवटा छात्रवृत्ति अक्षयकोषहरू रहेका छन् । समितिका पूर्व महासचिव गञ्जसिंह गुरुङले स्थापना गर्नुभएको ’अनु छात्रवृत्ति’ को अक्षयकोषमा दुई लाख रहेको छ भने निर्मला गुरुङ छात्रवृत्ति कोषमा चार लाख रहेको छ । त्यस्तै समितिका पूर्व अध्यक्ष क्या.तोरण बहादुर गुरुङले स्थापना गर्नुभएको ’पञ्च छात्रवृत्ति’ अक्षयकोषमा तीन लाख र राजकुमारी ट्रष्टमा २९ हजार रहेका छ यसका साथै क्या. उदयबहादुर गुरुङद्धारा सत्यउदय पुरस्कारका स्थापनाका साथै अन्य ।

ङ)  प्रकाशन

गुरुङ जातिका भाषालाई समृद्ध बनाउन तथा एकरूपता दिन समितिले विभिन्न किसिमका पुस्तकहरूको पनि प्रकाशन गर्दै आएको छ । समितिको मुखपत्र तमूमार्फत देशैभरका तमूहरूले बुझ्नेगरी खस भाषामा संस्थाको गतिविधिका साथै तमू संस्कार, संस्कृतिहरूको बारेमा जानकारी पस्कने कार्य वर्षेनी गर्दै आएको छ ।

त्यस्तै तमू मातृभाषामा विभिन्नखाले महत्वपूर्ण प्रकाशनहरू पनि गर्दै आएको छ । खासगरी समितिले अहिलेसम्म गर्व गर्न लायक ’गुरुङ–नेपाली–अङ्ग्रेजी’ वृहत तमू शब्दकोष, तमू बोलीचालीका लागि ’तमू क्युई पोंब्लुबै छ्युई’, प्रकाशन गरेको छ । यसका साथै पीपल पुस्तक अन्तर्गत छ किसिमका कथा संंग्रहहरू (च्होंक्याँ कोलो, स क्ल्योंमै, ट्होबस्यो तमैले, च्योहेबा क्याँ म्हैमा, ङी लमए, टुई क्याँ)को प्रकाशन गरेको छ ।

च) तालिम, प्रशिक्षण तथा गोष्ठी

समितिले २०५३ सालको चैत २८–३० मा समितिकै कार्यालय भवन अनामनगरमा ’तमू समुदायको प्राज्ञिक, आर्थिक तथा सामाजिक समस्याको पहिचान र समाधानका उपायहरू’ विषयक गोष्ठीको आयोजना गरेको थियो । त्यसैगरी २०५७ सालको असार ३१ मा ’तमू संघ–संगठनहरूको संस्थागत विकास तथा अन्तरसम्बन्ध’ विषयक गोष्ठीको आयोजना गरेको थियो । त्यसैको परिणामस्वरूप गुरुङ राष्ट्रिय परिषदको गठन भएको कुरा माथि नै उल्लेख गरिसकिएको छ ।

२०५६ सालको साउन ३१ बाट भदौ ८ गतेसम्म नेपाल आदिवासी जनजाति महासंघले नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि आयोजना गरेको ’प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ मा सहभागी भएको थियो । २०५६ सालकै चैत ३ र ४ गते महासंघले आयोजना गरेको मातृभाषा सम्मेलनमा समितिकातर्फबाट केन्द्रिय सदस्य ईश्वर गुरुङ र ई. ध्रुव गुरुङ तथा संघीय परिषदका सदस्यको रूपमा मे. भूपाल गुरुङ र गन्जसिंह गुरुङ सहभागी हुनुभएको थियो ।

समितिले २०५८ पुस २९ मा ’तमू लिपी तथा वर्ण विन्यास विकास गोष्ठी’ को आयोजना गरेको थियो । उक्त गोष्ठीमा विभिन्न जिल्लाबाट फरक लवजमा गुरुङ मातृभाषा बोल्ने प्रतिनिधिहरूका साथै बुद्धिजिवीहरूको समेत सहभागिता रहेको थियो । त्यसैगरी समितिले २०५८ सालकै चैत ६ र ७ मा ’तमू शब्दकोश लेखन पद्दति अभ्यास कार्यशाला गोष्ठी’ को पनि आयोजना गरेको थियो । समितिले २०६० सालको फागुन १०–१६ मा एक हप्ते ’तमू (गुरुङ) मातृभाषा प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम आयोजना गरेको थियो । समितिले यसरी आयोजना गरेको कार्यक्रममा काठमाडौ उपत्यकामा कार्यरत १० वटा गुरुङ संस्थाबाट १४ जना सहभागी हुनुभएको थियो । तिनै गुरुङ मातृभाषा प्रशिक्षकहरूले विभिन्न जिल्लाहरूमा पुगेर गुरुङ मातृभाषा प्रशिक्षण दिइरहनुभएको छ ।

छ) अधिकार प्राप्तिको आन्दोलन

तमू बौद्ध सेवा समिति, नेपालका आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको संस्थापक सदस्य हो। तर पछिल्लो समयमा समितिले गुरुङ राष्ट्रिय परिषद्लाई राष्ट्रिय स्तरको छाता संगठन मानेर गुरुङ जातिकोतर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने गरी सदस्यता परिषद्लाई सुम्पेको थियो । यसरी सदस्यता स्थान्तरण गर्ने बेलामा कुनै पनि कारणले परिषद्को विघटन भएमा त्यो सदस्यता स्वतः तमू बौद्धमै फिर्ता हुने सर्त राखिएकोमा २०६५ मा तत्कालीन तमू छोँज धीँ र परिषद्बीच एकता महाधिवेशन भई तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को गठन भएपछि परिषद् विघटन भएपछि पूर्व सर्तअनुसार महासंघको सदस्यता तमू बौद्धकै काँधमा आएको थियो । तर अधिकार प्राप्तिको आन्दोलनमा तमू ह्युल छोँज धीँ राष्ट्रिय परिषद् नै अगाडि बढोस्, हामी विशुद्ध सामाजिक सेवा र संस्कार, संस्कृतिको उत्थानमा काम गर्छौं भनेर समितिले महासैघको सदस्यताबारे मौन बसेको हो ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिका जातिय संस्थाहरूको छाता संगठनको रूपमा २०४७ बैशाख २२ गते नेपाल आदिवासी जनजाति महासंघको स्थापनाकालमा जम्मा आठवटा जातीय संस्थाहरू मात्र रहेका थिए । नेपाल लाङघाली संघ (मगर)का महासचिव सुरेश आले मगरको संयोजकत्वमा गठित महासंघको संस्थापक तदर्थ समितिमा नेपाल तमाङ घेदुङका महासचिव परशुराम तमाङ, नेपाल भाषा मंका खलका मल्ल के.सुन्दर, तमू बौद्ध सेवा समितिका डा.ओम गुरुङ, किरात याक्थुङ चुम्लुङका रकम चेम्जोङ, किरात राई सांस्कृतिक संघका तेजराज राई, सुनुवार सेवा समाजका राजेन्द्रकुमार सुनुवार र सगरमाथा केन्द्रका दोर्जी सुशील शेर्पा सदस्य रहनुभएको थियो । महासंघ स्थापनाकालदेखि नै आदिवासी जनजातिका हकअधिकारका विषयमा लड्दै आएको छ । महासंघको संस्थापक सदस्य तथा काठमाडौमा कार्यरत एक सक्रिय गुरुङ संस्थाको हैसियतले महासंघले आयोजना गर्ने गरेको यस्तो अधिकार प्राप्तिको आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको

जातिय अधिकार स्थापनाको आन्दोलन समितिले २०४७ सालबाटै शुरु गरेको हो ।समितिले २०४७ असार १८ मा सँविधान सुझाव आयोगलाई सबै जाति एवम् जनजातिको जनसंंख्याको आधारमा सांसाद एवम् सरकारमा समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था हुनुपर्नेलगायतका सुझाव दिएको थियो । लिखित सुझाव पेश गर्न गएको टोलीमा समितिका तत्कालीन अध्यक्ष मे. दिपकबहादुर गुरुङ, डा.गणेशमान गुरुङ, क्या.भोकबहादुर गुरुङ, गोपीराज गुरुङ र पदमबहादुर गुरुङ हुनुहुन्थ्यो । समिति २०४८ सालमा संस्कृत भाषाको अनिवार्यता खारेज गरी विभिन्न जातजातिका भाषाहरूलाई पनि राष्ट्रिय मान्यता दिनुपर्ने माग राख्दै ’डेलिगेशन’ गएको थियो । आदिवासी जनजातिको निरन्तर संघर्षको परिणामस्वरूप सरकारले २०५२ सालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गर्न समितिका तत्कालीन महासचिव प्रा. सन्तबहादुर गुरुङको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । यसरी सरकार गठित कार्यदलले विभिन्न आदिवासी जनजाति संघ–संस्थाहरूसँग राय लिने कार्यक्रममा समितिका तत्कालीन अध्यक्ष क्य. भोकबहादुर गुरुङको नेतृत्वमा समितिका सल्लाहकार समितिका संयोजक सीबी घोताने र सचिव अवतारसिंह गुरुङ सहभागी हुनुभएको थियो ।

यसरी नै २०५९ सालको विश्व आदिवासी दिवसको सन्दर्भमा महासंघले ’अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा नेपालका आदिवासी/जनजातिहरूको समस्या र त्यसबाट हुने दीर्घकालीन असर तथा तत्काल लिनु पर्ने रणनीति’ विषयक वृहत विचार गोष्ठी आयोजना गरेको थियो । त्रिपुरेश्वरको होटेल ब्लुस्टारमा आयोजित उक्त कार्यक्रममा समितिले सह–आयोजक तथा प्रायोजकको भूमिका निर्वाह गरेको थियो । सोही वर्ष समितिले गुरुङ जातिसँग सम्बन्धित विभिन्न पुस्तक तथा फोटो पनि प्रदर्शन गरेको थियो । त्यस्तै २०६० सालमा सम्पन्न महासंघको महाधिवेशनमा समितिले संस्थापक सदस्यको हैसियतले स्वयम् सेवक परिचालन तथा प्रतिनिधिहरूका लागि होटल व्यवस्थापनमा पनि सहयोग गरेको थियो । उक्त महाधिवेशनबाट समितिका सदस्य डा.ओम गुरुङ महासंघको महासचिव पदमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

ज) राष्ट्रिय जातीय संग्राहलय

नेपाल विविध जातजातिको साझा फूलबारी हो । जहाँ आ–आफ्नै मौलिक परम्परा, संस्कार, संस्कृति, भाषा भएका जातीय समूदायको बसोबास रहेको छ । यी मौकि जातीय संस्कृति र जातीय विविधता देशको महत्वपूर्ण सम्पत्ति हो । यसको जगेर्ना गरिनु आवश्यक छ । तर, अहिले कतिपय संस्कृति र परम्परा लोप हुने अवस्थामा पुगेको छ । यही सत्यलाई मनन् गर्दै नेपालका सबै जातजाति र समुदायको संस्कृतिको संरक्षण, संवद्र्धन र कम्तीमा पनि त्यसलाई संग्रहीत गर्ने उद्देश्यले राष्ट्रिय जातीय सङ्ग्रहालय स्थापना भएको हो ।

तमू बौद्ध सेवा समितिकै संस्थापक सचिव एवम् पूर्वप्रमुख सल्लाहकार प्रा.डा. गणेशमान गुरुङको नेतृत्वमा स्थापना भएको सङ्ग्रहालयमा गुरुङ संस्कृति झल्कने स्टल निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डको पहिलो तल्लामा रहेको स्टल निर्माणका लागि आवश्यक सामाग्री तमू बौद्ध सेवा समितिले नै उपलब्ध गराएको हो भने स्टल निर्माणमा पनि समितिले नै अयुवाई गरेको थियो । र, तमू बौद्ध सेवा समिति उक्त संग्रहालयको संस्थापक सदस्य पनि हो । सरकारले काठमाडौको चम्पादेवीमा उपलब्ध गराएको सङग्रहालयको जग्गामा सबै जातिको मौलिक निर्माण गर्ने योजना बनाइएको छ । र, त्यसका लागि परम्परागत गुरुङ घरको अध्ययन तथा नक्साङ्कन कार्य पुरा गर्न संस्थाले योगदान पुर्‍याएको छ ।

Scroll to Top